काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार बिहान ११ बजेपछि पार्टी कार्यालय आलोकनगरमा केन्द्रीय सचिवालय बैठक बस्ने निर्णय गरेको छ। बैठकको आह्वान पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका हुन्।
आन्तरिक विवादमा अल्झिएको एकीकृत समाजवादीले यसअघि भदौ ७ र ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठकलाई २० दिनपछि सारेर भदौ २७ र २८ मा पु¥याइसकेको छ।
उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार शुक्रबारको सचिवालय बैठकमा पार्टीमा हालै प्रवेश गरेका वामदेव गौतमको जिम्मेवारी, नेतृ रामकुमारी झाँक्रीको आत्मालोचना, वामपन्थी दलहरूसँग एकता र सहकार्यको प्रगतिसहितका समसामयिक विषयमा छलफल हुनेछ।
यसअघि नेतृ झाँक्रीले अध्यक्ष माधव नेपालको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै तीव्र आलोचना गरेकी थिइन्। उनको अभिव्यक्तिमा प्रयोग भएका केही शब्दप्रति नेताहरूले आपत्ति जनाएका थिए, जसपछि उनलाई लिखित आत्मालोचना गर्न निर्देशन दिइएको थियो। उनले लिखित रूपमै आत्मालोचना बुझाएपछि आइन्दा त्यस्ता अभिव्यक्ति नदिने चेतावनीसहित माफी दिने तयारी गरिएको छ।
त्यस्तै, हालै नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरी गत साउन २ गते एकीकृत समाजवादीमा प्रवेश गरेका अध्यक्ष गौतमको जिम्मेवारीबारे पनि बैठकमा निर्णय हुने भएको छ। गौतमले संगठन विभागको जिम्मेवारी पाउने अपेक्षा राखेका छन्, तर हाल उक्त विभाग सम्हालिरहेका नेता बेदुराम भुसालले तत्काल पद नछोड्ने अडान राखेकाले विवाद चर्किएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया