भक्तपुर । ‘चक्रे मिलन’ भनेर परिचित मिलन गुरुङविरुद्धको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा जिल्ला अदालत भक्तपुरमा पेश भएको छ। शुक्रबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दामा थुनछेक बहस हुँदैछ। हाल मिलनको बयान लिइँदैछ।

सरकारी वकिलको कार्यालय भक्तपुरले मिलनविरुद्ध मनिष रायमाझीमाथि खुकुरी प्रहार गराएको आरोपमा मुद्दा दायर गरेको हो। आरोप अनुसार, २०८१ भदौ १० गते मध्यपुर थिमी–२ सानोठीमीस्थित एक रेस्टुरेन्टमा रायमाझीमाथि खुकुरी प्रहार भएको थियो।

advertisement

मिलनले भने सरकारी वकिलसमक्ष आफू मनिष रायमाझीलाई चिन्नै नपाएको र पूर्वयोजना बनाएर आक्रमण गराएको आरोप निराधार भएको दाबी गरेका छन्। “मैले मनिषलाई चिन्दिनँ, अजित खवासलाई पनि चिन्दिनँ। नचिनेको व्यक्तिलाई खोजी गरेर कुटपिट गर्ने वा धम्की दिने कुरा भएन। यो सबै शंकाको भरमा लगाइएका आरोप हुन्,” उनले आफ्नो बयानमा भनेका छन्।

उक्त घटनामा प्रहरीले सर्लाही घर भई ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय अजित खवासलाई पक्राउ गरेको थियो। खवासले बरु उल्टै घाइते रायमाझीलाई प्रहरी चौकीसम्म पुर्‍याएको र त्यहाँबाट अस्पताल पठाइएको बताएका छन्। उनका अनुसार, घटनास्थलमा ८–९ जनाको समूह आएर ‘तैं हैन?’ भन्दै रायमाझीलाई कुटपिट गर्‍यो र सो क्रममा आफू पनि घाइते भए।

खुकुरी प्रहारबाट रायमाझीको दुवै कोखामा चोट लाग्नुका साथै टाउकोमा निलडाम हुने गरी कुटपिट भएको थियो।

यसअघि, साउन १५ गते मध्यराति काठमाडौंको महाराजगञ्जबाट जन्मदिन मनाइरहेका बेला होहल्ला गरेको आरोपमा प्रहरीले चक्रे मिलनसहित १९ जनालाई पक्राउ गरेको थियो। त्यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले अभद्र व्यवहार मुद्दामा मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com