काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी भदौ २ गतेदेखि कोसी प्रदेशबाट देशव्यापी राजनीतिक दौडाह सुरु गर्ने भएकी छन्। कोसीका विभिन्न कार्यक्रममा सहभागी भएपछि उनी भदौ १४ गतेदेखि मधेस प्रदेश जाने कार्यतालिका रहेको नजिकका नेताहरूले बताएका छन्।
यो दौडाह एमालेमा उनको पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयलाई सच्याउन विभिन्न प्रदेश कमिटीहरूबाट दबाब चुलिँदै गरेको समयमा हुन लागेको हो। विधान महाधिवेशन (भदौ २०–२२) नजिकिँदै गर्दा कोसी, बागमती र मधेस प्रदेशका बैठकहरूमा नेताहरूले सदस्यता विवाद टुंग्याउन आग्रह गरेका छन्।
कोसी प्रदेश कमिटीमा मंगलबार ४० सदस्यले धारणा राख्दा अधिकांशले निर्णय सच्याउन माग गरेका थिए। भोजपुर अध्यक्ष मकर खड्का, मोरङका डिबी कार्की, भोजपुरका रोशन बस्नेत, सुनसरीकी अन्जु पाण्डे लगायतले सदस्यता नवीकरण नगर्ने निर्णयले पार्टीलाई आगामी निर्वाचनमा गम्भीर असर पार्ने चेतावनी दिए। तर केही सदस्यले पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा फर्कनु उचित नभएको तर्क पनि गरे।
बागमती प्रदेश बैठकमा समेत बहुमत नेताहरूले केन्द्रको निर्णयले वडा तहसम्म आक्रोश फैलाएको र पार्टी विभाजनको खतरा बढाएको बताए। काठमाडौं अध्यक्ष दीपक निरौलाले आन्तरिक लोकतन्त्र कमजोर हुने चेतावनी दिए भने रामेछाप अध्यक्ष पुरुषोत्तम कडरियाले नेतृत्वमा पुस्तान्तरणको प्रश्न सम्बोधन हुन नसकेको टिप्पणी गरे।
तर महासचिव शंकर पोखरेलले सदस्यतासम्बन्धी विवाद केन्द्रीय कमिटीले टुंग्याइसकेकाले विधान महाधिवेशनमा समेत छलफल नहुने बताए। यद्यपि, पार्टीभित्र दबाब र असन्तोष दुवै बढिरहेको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया