काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा संरचना हटाउन डोजर चलाएपछि स्थानीयले काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
महानगरको टोली बुधबार नयाँ बनेका टहरा र घर हटाउन डोजरसहित पुगेको थियो। यसक्रममा आक्रोशित भीडले डोजरमा समेत ढुंगामुढा गर्दै तोडफोड गरेपछि वातावरण तनावपूर्ण बनेको थियो।
गत साउन ८ गते गोरखापत्र मा सूचना जारी गर्दै व्यक्तिको जग्गामा बनेको संरचना सात दिनभित्र हटाउन महानगरले चेतावनी दिएको थियो। तर समयसीमा बितेपछि नयाँ संरचना बनेको देखिएपछि डोजर चलाइएको महानगरको भनाइ छ।
संभावित झडपको आशंकामा नेपाल प्रहरीको अतिरिक्त टोली पनि नगर प्रहरीसँगै खटाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया