ए.आई. (कृत्रिम बुद्धिमत्ता) ले घण्टौंको कामलाई मिनेटमा सम्पन्न गर्दै, धेरैको जागिर खाएको छ वा धेरैको काम सजिलो बनाएको छ। “के हो कृत्रिम बुद्धिमत्ता ? यसको प्रयोग कसरी गर्ने ? ए.आई. सत्रु कि मित्र ?” यो अहिले धेरैको दिमागमा घुमिरहेको प्रश्न हो।
प्रविधिको तीव्र विकाससँगै मानव जीवनमा आमूल परिवर्तन आएको छ। त्यसैको एउटा मुख्य आयाम हो ‘कृत्रिम बुद्धिमत्ता’ (ए.आई.)। हालसम्म हातको श्रमभन्दा बढी, बौद्धिक श्रम गर्ने क्षेत्र — शिक्षक, पत्रकार, लेखक, सम्पादक, डाक्टर, वकिल, विश्लेषक आदिमा ए.आई.को प्रत्यक्ष प्रभाव देखिन थालेको छ। जहाँ विचार, विश्लेषण र चिन्तन आवश्यक पर्थ्यो, त्यहाँ पनि अब ए.आई.को उपस्थिति देखापरेको छ, जसले बौद्धिक श्रमिकहरूका लागि संकटको संकेत दिएको महसुस हुन्छ।
पहिला सोचिन्थ्यो, मानिसको बुद्धिमताका कारण मेशिनले मेहेनती काम गर्छ। तर अहिले ए.आई. लेख लेख्छ, रिपोर्ट तयार पार्छ, भाषण बनाउँछ, कानुनी सल्लाह दिन्छ, डाक्टरले जस्तो उपचारको तरिका सुझाउँछ। यस परिवर्तनले बौद्धिक श्रमिकहरूमा असहजता ल्याएको छ। रोजगारीको अवसर घट्ने डर, सिर्जनात्मकता कमजोर हुने आशंका, ‘मानिसको आवश्यकता नै नरहने’ सोचको उदय देखिन्छ, जसका कारण धेरै सर्जकहरू निराश भएका छन्।
तर ए.आई.लाई समस्याको रूपमा मात्र नभई सम्भावनाको रूपमा पनि हेर्न सकिन्छ। ए.आई. आफैं कुनै ‘विकृति’ होइन। यसको प्रयोग कसरी गरिन्छ भन्नेमा सफलता वा असफलता निर्भर गर्छ। ए.आई. मानिसकै सिर्जना हो, र समयसँगै प्रविधि विकास हुँदै जान्छ। त्यसलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ। ए.आई. आफैं घातक होइन, यसलाई प्रयोग गर्ने व्यक्ति र उसको उद्देश्यमा भर पर्छ।
ए.आई.लाई मालिक होइन, सहयोगीको रूपमा प्रयोग गर्न सके यसले ठूलो फाइदा दिन सक्छ। तर, यसलाई मालिक मानेर पूर्ण निर्भर रहनु घातक हुन्छ। ए.आई.बाट प्राप्त सामग्री, स्रोत र विश्लेषण क्षमता प्रयोग गर्ने कौशल आफैंमा हुनुपर्छ। यसले योजना बनाउन, तथ्य विश्लेषण गर्न, लेख समृद्ध बनाउन, छिटो निर्णय लिन, समय बचत गर्न, नयाँ विषयको खोजी गर्न सजिलो बनाउँछ। ए.आई. सहयोगी हो, प्रतिस्थापनकर्ता होइन।
ए.आई.मा ज्ञान छ, तर अनुभूति छैन। यसले तथ्य देखाउँछ, तर सम्बन्ध महसुस गर्न सक्दैन। यही अभाव मानव संवेदनाले पूरा गर्न सक्छ। ए.आई. पाठ्यक्रम हुन सक्छ तर शिक्षकको भावना हुन सक्दैन, उपचारको तरिका सिकाउन सक्छ तर डाक्टरप्रतिको विश्वास र मनोविज्ञान मेटाउन सक्दैन। ए.आई. साधन हो, चालक होइन। हामी यात्रा गर्दा साधन मात्र होइन, चालकको भर पर्छौं।
सही व्यक्तिले ए.आई.को प्रयोग गर्दै पनि आफ्नो मानवता जोगाएमा सिर्जनाको नयाँ युग सुरू गर्न सक्छ। अहिले हामी यस्तो मोडमा छौं जहाँ ए.आई.लाई अस्वीकार गर्दा पछि पर्छौं, तर आँखा चिम्लेर भर पर्नु पनि मानवीय मूल्य गुमाउने खतरा हो। त्यसैले ए.आई. र मानव संवेदनाको सहकार्य दुवै आवश्यक छ।
मानवले समाजलाई वर्षौंदेखि बुझेको छ, विश्वास कमाएको छ, सुख-दुःखमा साथ दिएको छ, भावनात्मक उपचार गरेको छ। ए.आई.ले आजको विश्वको ज्ञान, प्रविधि र स्रोतलाई छिटो, छरितो र बहुउपयोगी रूपमा प्रस्तुत गर्छ। तर, मानवले भावना र शब्द दुवैको प्रयोग गर्छ, जुन ए.आई.ले सक्दैन।
यस विषयमा म विशेषज्ञ होइन, तर ए.आई.ले कुनै समय मलाई पनि डर सिर्जना गराएको थियो। तर ए.आई.सँग भाग्नु वा प्रतिस्पर्धा गर्नु दुवै मूर्खता हो। यो प्रविधि हो, जसलाई हामीले आत्मसात गर्न सक्नुपर्छ। यसका बारेमा मैले पनि धेरै भिडियो हेरेको छु, विभिन्न दृष्टिकोण बुझ्ने प्रयास गरेको छु।
ए.आई.लाई उपयोगी र आफ्नो अध्ययन-क्षेत्रमैत्री बनाउनुपर्छ, मालिक बनाउन हुँदैन। यसमा पूर्ण भर पर्नु पनि मूर्खता हो, किनभने ए.आई. सधैं सही सूचना दिन्छ भन्ने छैन। यसले इन्टरनेटमा उपलब्ध सामग्रीको आधारमा विश्लेषण गर्छ, तर इन्टरनेटमै धेरै प्रचार-प्रसार र भ्रमपूर्ण सूचना पनि हुन्छन्। त्यसैले सबैले यसलाई बुझेर मात्र प्रयोग गर्नुपर्छ।
ए.आई.को आगमनले बौद्धिक क्षेत्रमा चुनौती ल्याएको छ, तर संकटसँगै सम्भावनाहरू पनि जन्माएका छन्। सही मानिस जसले ए.आई.लाई समझदारी र संवेदनासहित प्रयोग गर्छ, उसले यस्तो सिर्जना गर्न सक्छ, जुन न केवल मानवले मात्र गर्न सक्छ, न केवल मेशिनले— बरु मानवता र प्रविधिको संयोजनबाट जन्मिने नयाँ युग निर्माण गर्न सक्छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया