काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मगर समुदायलगायत आदिवासी जनजातिले पाएको राजनीतिक र सामाजिक अधिकारको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिता कांग्रेसकै नेतृत्वमा स्थापित भएको स्मरण गराए।
देउवाले भने, “कांग्रेस नेतृत्वको सरकारले निरङ्कुश राणा शासनविरुद्ध शहादत प्राप्त गरेका क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीदको मान्यता दिएको हो। प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयनमा हामी अडिग छौं।”
उनका अनुसार मगरलगायत आदिवासी जनजातिको परम्परागत संस्कृति, ज्ञान, सीप र पेशाको संरक्षण–प्रवर्द्धनसँगै जलवायु परिवर्तनको असर कम गर्न कांग्रेस सहकार्य गर्न तयार छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया