काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ पाँच मन्त्रीको नियुक्ति गरेका छन्। शुक्रबार उनले नाम सिफारिस गरेपछि प्रदेश प्रमुखले ती मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कांग्रेस कोटा अन्तर्गत युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठ नियुक्त भएका छन्।
यसअघि कांग्रेसबाट आन्तरिक मामिला मन्त्रीमा शिवराज अधिकारी र खानेपानी मन्त्रीमा कृष्ण तामाङ जिम्मेवारी पाइसकेका थिए। हाल बागमतीमा कांग्रेसका तर्फबाट मुख्यमन्त्रीसहित आठ जना र एमालेका तर्फबाट छ जना मन्त्री रहेका छन्। प्रदेशमा कुल १४ मन्त्रालय छन्।
मन्त्री नियुक्तिको क्रममा मुख्यमन्त्री बानियाँले पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ समूहका कुनै सांसदलाई मन्त्री पद नदिएका कारण कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। बानियाँ पक्षका एक सांसदका अनुसार, तामाङ पक्षका १४ सांसदमध्ये कसैलाई पनि समावेश नगरिएको हो।
पूर्वमुख्यमन्त्री तामाङले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षलाई पनि मन्त्रिपरिषद्मा हिस्सेदारी दिनुपर्ने आग्रह गरेका थिए। कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जना बानियाँ पक्षमा खुलेका थिए भने एक मत बदर भएको थियो। दलको नेताबाट तामाङलाई पराजित गरेका बानियाँ मुख्यमन्त्री बनेर विश्वासको मत लिइसकेका छन्।
एमाले कोटाबाट भने भौतिक पूर्वाधार मन्त्रीमा दिनेशचन्द्र देवकोटा, श्रम तथा रोजगार मन्त्रीमा जयराम थापा, वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी मन्त्रीमा मधुसुदन पौडेल, उद्योग मन्त्रीमा बिन्दु श्रेष्ठ र स्वास्थ्य मन्त्रीमा किरण थापा मगर कार्यरत छन्।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया