काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकिकरण प्रक्रिया श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दूतावास रियादमा आयोजित कार्यक्रममा आठ वर्षदेखि त्यहाँ कार्यरत अजय दंगालको बायोमेट्रिक लिइ राजदूत डा. नरेश बिक्रम ढकालले प्रक्रिया औपचारिक रूपमा सुरु गरेका हुन्।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा कार्यरत नेपालीलाई वैधानिक बनाउने दूतावासको पहलप्रति धन्यवाद व्यक्त गरे। उनले श्रम स्वीकृतिको अभावमा श्रमिकले स्वदेश फर्किन नसक्ने अवस्था मानवीय दृष्टिले पनि अनुचित भएको भन्दै वैधानिकिकरण आवश्यक भएको बताए। साथै, साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने र आगामी सेवा प्रविधिमैत्री हुने जानकारी दिए।
श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभावका कारण श्रमिकले राज्यबाट प्रदान हुने सेवा पाउन नसकेको र दूतावासमार्फतै वैधानिकिकरण आवश्यक भएको औंल्याए।
राजदूत डा. ढकालले वैधानिकिकरणलाई अभियानका रूपमा सञ्चालन गरिने बताउँदै यस कार्यमा विभिन्न सङ्घ–संस्थाको सहकार्यको आग्रह गरे।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया