काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राष्ट्रिय गानका वास्तविक रचयिता प्रदीप राई ‘व्याकुल माइला’ बनेर आफूलाई प्रस्तुत गर्ने व्यक्तिका गतिविधिप्रति सचेत रहन संसदीय समितिलाई आग्रह गरेकी छिन्।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले व्याकुल माइला हुँ भन्दै किताब प्रकाशित गर्ने, प्रस्ताव पेश गर्ने र त्यसमार्फत बजेटसम्म निकासा गर्ने कार्य भइरहेको भन्दै यसको गम्भीरता बुझ्नुपर्ने उल्लेख गरिन्।

advertisement

उनका अनुसार, वास्तविक सर्जक व्याकुल माइलालाई प्रहरीले नै ‘म होइन’ भनेर उजुरी दिन सुझाव दिएको प्रसंग अस्वीकार्य छ। “नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो व्यवहार हुनुहुँदैन। नक्कली व्यक्तिको गतिविधि रोक्नुपर्ने सट्टा उल्टै सक्कलीलाई उजुरी हाल्न लगाउनु अपमानजनक हो,” गौतमले भनिन्, “यसले आत्मसम्मानमा ठेस पुर्‍याउँछ, मन्त्रालयले तत्काल ध्यान दिनुपर्छ।”

उक्त बैठकको कार्यसूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धी वृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतिकरण र छलफल तय थियो। समितिमा संशोधनकर्ता समेत रहेकी गौतमले विधेयकमाथि धारणा राख्ने क्रममा यो विषय उठाएकी थिइन्।

गौतमले व्याकुल माइला बनेर किताब निकाल्ने, प्रस्ताव पेश गर्ने र बजेट निकासा गर्ने जस्ता कार्यले वास्तविक रचयिताको प्रतिष्ठामा धक्का पुर्‍याइरहेको भन्दै समितिको ध्यानाकर्षण गराएकी थिइन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com