काठमाडाैं । अस्ट्रेलियाको डार्विनमा शुक्रबार सुरु भएको टप एन्ड टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पराजय भोगेको छ। घरेलु टोली नर्दन टेरिटोरी (एनटी) ले नेपाललाई ४२ रनले हरायो।
टस जितेर फिल्डिङ रोजेको नेपालले एनटीलाई २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रनमा रोक्यो। एनटीका डि’आर्ची सर्टले ३४ बलमा ५१ रन र टम एन्ड्युसले २६ बलमा नटआउट ३२ रन जोडे। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए भने साहब आलमले २ विकेट झारे। रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र गुलशन झाले समान १–१ विकेट पाए।
१७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो। कुशल मल्लले २६ बलमा ३४ रन, गुलशन झाले १० बलमा २६ रन र कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए। अन्य ब्याटरहरू भने सस्तैमा पेभिलियन फर्किए। एनटीका म्याट हमन्डले ३ विकेट लिए।
सिरिजमा एनटीसँगै अष्ट्रेलियाका बिग ब्यास एकेडेमी टोली, पाकिस्तान ‘शाहिन्स’ र बंगलादेश ‘ए’ सहभागी छन्। नेपालले शनिबार बंगलादेश ‘ए’, सोमबार मेलबर्न स्टार्स एकेडेमी, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।
आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोटका तयारीका लागि नेपाल अस्ट्रेलियामा अभ्यासरत छ। यस सिरिजपछि नेपालले एक सातासम्म अतिरिक्त अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले अगस्ट २६ मा क्रिकेट एसीटीसँग दुई, अगस्ट २८ मा साउथ अष्ट्रेलियासँग दुई टी–२० तथा अगस्ट ३० मा साउथ अष्ट्रेलियासँग एकदिवसीय खेल खेल्नेछ। त्यसपछि सेप्टेम्बरमा नेपालले युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ।
एसिया–ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालसहित ९ टोली सहभागी हुँदैछन्। शीर्ष तीन टोलीले सन् २०२६ मा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।
नेपालको टोली – रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल Kami, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, साहब आलम।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया