काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले उद्योगले प्रयोग गरेको विद्युत्को महसुल तिर्नुपर्दैन भन्ने सरकारको धारणा कहिल्यै नभएको स्पष्ट पारेका छन्।

नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री खड्काले उद्योगधन्दाले प्रयोग गरेको विद्युत्को महसुल नतिरी थन्किने प्रवृत्ति दुर्भाग्यपूर्ण भएको बताए। उनले “जति प्रयोग गरेको छ, त्यति महसुल तिर्नैपर्छ” भन्दै प्राधिकरणलाई असुलीमा कडाइ गर्न निर्देशन दिए।

advertisement

“सरकारले कहिल्यै महसुल नतिर्ने भनिदिएको छैन। केवल उपभोक्तालाई अन्याय हुन नदिने भनिएको हो। प्रयोग गरेअनुसार बराबरी असुली गर्नुपर्छ,” मन्त्री खड्काले स्पष्ट पारे।

उनले उद्योगलाई निरुत्साहित गरेर नभई न्यायोचित प्रक्रियाबाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै टिओडी (Time of Day) मिटरमार्फत असुली गर्न सकिने बताए। तर धेरै ठाउँमा टिओडी मिटर नै नजडान गरिएकोप्रति प्रश्न उठाए।

“हामीले दिएको विद्युत्को भुक्तानी असुल नहुने अवस्था रहिरहनु दुर्भाग्यपूर्ण हो। खानाको पनि मूल्य निर्धारण हुन्छ, त्यसरी नै विद्युत्को पनि प्रयोग अनुसार निश्चित मूल्य छ,” उनले भने।

वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कर्मचारीलाई दीर्घ सेवा पदक, अवकाश पदक र अमर विद्युत्कर्मी सम्मानसमेत गरिएको थियो।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com