हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु भएको छ। शनिबार बिहान पौने ६ बजेतिर अचानक स्वास्थ्य समस्या उत्पन्न भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारका क्रममा निधन भएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए।
दुलाललाई बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या आएपछि तुरुन्तै कारागारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेका थिए। केहीबेर सुधार देखिएपछि उनी नुहाउन बाथरूम गएका थिए। तर, ५:५१ बजेतिर बाथरूममै अचेत भई लडेपछि अस्पताल लैजाँदै गर्दा ६:५५ मा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्युको कारण भने प्रस्ट भइसकेको छैन। शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको कारागार प्रशासनले जनाएको छ।
५०० भन्दा बढी कैदीबन्दी रहेको कारागारको ‘क’ ब्लकमा बस्दै आएका दुलाल १० माघ २०७८ मा चितवन जिल्ला अदालतबाट जर्वजस्तीकरणी मुद्दामा १० वर्ष कैद सजाय पाएका थिए। उनी १३ साउन २०७९ देखि भीमफेदी कारागारमा रहेका थिए।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार












प्रतिक्रिया