काठमाडौँ । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ९३ प्रतिशत भौतिक प्रगति भइसकेको सुरुङमार्ग आगामी पुस-माघ भित्र सञ्चालनमा ल्याउने तयारी भएको छ।

२०७६ कार्तिक ४ गते शिलान्यास भएको यो आयोजना जापानी कम्पनी हाजमा कर्पोरेशनले निर्माण गरिरहेको हो। कम्पनीले निर्माण सम्पन्न गरी यस वर्ष अक्टोबरको अन्त्यमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। परियोजना करिब २२ अर्ब लागतमा बनेको हो, जसमा जाइकाको १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारको करिब ६ अर्ब लगानी रहेको छ।

advertisement

करिब २.६ किमी लामो यो सुरुङमार्गमा आपतकालीन प्रयोगका लागि सहायक सुरुङमार्गसमेत तयार गरिएको छ। सुरुङमार्गअन्तर्गत पूर्वी खण्डमा २.५ किमी एप्रोच सडक निर्माण भइसकेको छ भने बलम्बुस्थित ओभरपास अन्तिम चरणमा छ।

मन्त्रिपरिषद्ले यस सुरुङमार्ग प्रयोगका लागि टोल शुल्क निर्धारण गरिसकेको छ। काठमाडौँ प्रवेश गर्दा कार/भ्यानलाई रु.६५, मिनी बस/ट्रकलाई रु.११५ र बस/ट्रकलाई रु.२६० लाग्नेछ। फर्किँदा शुल्क क्रमशः रु.६०, रु.८० र रु.२०० हुनेछ। भारी उपकरणले काठमाडौं आउँदा रु.६०० र फर्किँदा रु.२५० तिर्नुपर्नेछ। दुई पाङ्ग्रे सवारी भने सुरुङमार्गमा प्रवेश गर्न पाउने छैनन्।

सुरुङमार्गमा आधुनिक प्रविधि जडान गरिएको छ। १५ वटा जेट फ्यानमार्फत अक्सिजन प्रवाह कायम राख्ने व्यवस्था, हानिकारक ग्यास फिल्टर प्रणाली, हरेक १५०–२०० मिटरमा सीसीटीभी क्यामेरा, भिजिबिलिटी मीटर तथा आपतकालीन टेलिफोनसमेत राखिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोट हुँदै नौविसे पुग्न ३० मिनेटको बाटो छोटिँदै करिब १० मिनेटमै यात्रा गर्न सकिनेछ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com