काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री भोलि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक निम्ता दिन नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली भदौ ३१ देखि दुई दिनका लागि भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। यसअघि नै उनका भारत भ्रमणबारे अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको थियो। तर औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै हुनुहुन्छ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री भदौ १ र २ गतेसम्म नेपालमा रहनेछन्।
विदेश मन्त्रालयले भारत–नेपाल सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण रहेको उल्लेख गर्दै विगतका वर्षहरूमा दुवै देशबीच विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ। भारतले आफ्नो “छिमेकी पहिलो नीति” अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको पनि विज्ञप्तिमा भनिएको छ।
विदेश सचिव मिस्रीको यस भ्रमणले नेपाल–भारतबीच नियमित उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिन र दुई देशबीचको आपसी सम्बन्ध अझ सुदृढ बनाउन अवसर प्रदान गर्ने भारतीय पक्षको विश्वास रहेको छ।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार












प्रतिक्रिया