काठमाडौँ । स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले स्वास्थ्य पत्रकारितामा विधागत पत्रकारिताको महत्व अत्यधिक रहेको बताएका छन्।
सभामुख घिमिरेले सम्बोधन गर्दै भने, “तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आम जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नु चुनौतीपूर्ण काम हो, तर स्वास्थ्य पत्रकारहरूले यसलाई निरन्तर गर्दै आएका छन्। अबको चुनौती एआईजस्ता प्रविधिको दुरुपयोग र भाइरल गराउने फेक न्यूज रोक्नु हो।” उनले रोगको विवरणभन्दा रोग लाग्नबाट जोगाउने विषयमा बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकारिताले जनचेतना जगाउने माध्यमका रूपमा काम गर्नुपर्ने बताए। उनले स्वास्थ्य क्षेत्रमा विकास भए पनि सर्वसाधारणको पहुँचमा अझै उपचार नपुगेको उल्लेख गर्दै पत्रकारहरूले राज्य तथा स्वास्थ्य नेतृत्वलाई दबाब दिन सक्ने बताए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. आर.पी. विच्छाले स्वास्थ्य पत्रकारिताले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन योगदान गरेको बताए भने स्वास्थ्य सचिव डा. विकास देवकोटाले तथ्यमा आधारित निरन्तर निगरानी र खबरदारीले सुधारमा सहयोग पुगेको बताए।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले डिजिटल मिडियासँगै स्वास्थ्य पत्रकारिताको विकासको महत्व औंल्याइन्। मञ्चकी अध्यक्ष भिषा काफ्लेले मञ्चको १० वर्षे इतिहास र सफलताका बारेमा चर्चा गरिन्।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका संस्थापकहरूलाई समेत सम्मान गरिएको थियो।
- रासस
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया