काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले आगामी २०८४ सालको आम निर्वाचनमा पार्टीले १९० सिट जित्ने दाबी गरेका छन्।
शनिबार राजधानीको जडीबुटीमा रास्वपा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले संसदमा १९ सांसदकै गतिविधिबाट पुराना दलहरू त्रसित भएको दाबी गरे।
‘पुराना दलहरूलाई अहिले डर लागेको छ। १९ सांसदले नै यति प्रश्न उठाउँछन् भने १९० भएपछि के हुन्थ्यो भन्ने उनीहरूको सोचाइ हो। त्यसैले ८४ को निर्वाचनमा रास्वपाको ठूलो उपस्थितिलाई नकार्न सकिँदैन,’ खनालले भने।
उनका अनुसार संसदमा मात्र ६ प्रतिशत उपस्थिति भए पनि रास्वपाले प्रमुख प्रतिपक्ष दलसरह खबरदारी र प्रश्न उठाएको छ। ‘२१ सांसदमध्ये अध्यक्ष रवि लामिछाने निलम्बित हुनुहुन्छ, एक उपसभामुख हुनुहुन्छ। बाँकी १९ सांसदले मात्रै सदनमा आवाज उठाएका हुन्,’ उनले भने, ‘तर कांग्रेस–एमालेका नेताहरूले देशका सबै समस्याको दोष हामीलाई नै दिन्छन्।’
खनालले दोलखामा देखिएको पार्टीप्रतिको उत्साहले रास्वपाको भविष्य अझ उज्ज्वल रहेको पनि बताए। ‘दोलखामा ठूलो संख्यामा साथीहरू जोडिनुले स्पष्ट हुन्छ, ८४ को चुनाव घण्टी र रास्वपाको हुने हो,’ उनले जोड दिए।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया