काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नाे पार्टीले १९० सिट जित्ने ठोकुवा गरेका छन्। उनका अनुसार, अहिले संसद्मा रहेका १९ सांसदले मात्र उठाएका प्रश्न र खबरदारीले नै पुराना दलहरू त्रसित भएका छन्।
शनिबार काठमाडौंको जडीबुटीमा रास्वपा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले भने, “पुराना दलहरूका मनमा अहिले ढ्याङ्ग्रो पिट्न थालेको छ—१९ को सट्टा १९० आउने भए भन्ने डर छ। १९ सांसदले मात्रै यति ठूलो दबाब सिर्जना गरेका छन् भने, १९० जना रास्वपाका सांसद हुँदा के हुन्थ्यो भन्ने उनीहरू आफैं अन्दाज गरिरहेका छन्।”
उनले संसद्मा रास्वपाको उपस्थिति करिब ६ प्रतिशत मात्र भए पनि, देशको प्रमुख प्रतिपक्षजस्तै भूमिका निर्वाह गर्न बाध्य पारिएको बताए।
“संख्यामा हामी जम्मा २१ जना छौं। त्यसमध्ये सभामुखको जिम्मेवारी एकजनाले सम्हाल्नुभएको छ, अध्यक्ष रवि लामिछाने निलम्बित हुनुहुन्छ, बाँकी १९ जनाले संसद्मा आवाज उठाइरहेका छौं। तर, कांग्रेस र एमालेका नेताहरूले देशका सबै बेथितिको दोष हाम्रो पार्टीमाथि थोपर्छन्,” खनालले टिप्पणी गरे।
खनालले दोलखामा देखिएको जनउत्साहले रास्वपाको भविष्य उज्ज्वल रहेको प्रस्ट संकेत दिएको दाबीसमेत गरे। उनले थपे,
“दोलखामा हजारौं युवाहरू घण्टीको प्रतीकमा एकजुट भएका छन्। यसले देखाएको छ—२०८४ को चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीकै पक्षमा हुनेछ। अब ढुक्क भएर अगाडि बढ्न सकिन्छ।”
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार












प्रतिक्रिया