काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण गरिएको छ। शुक्रबारकै निर्णयअनुसार शनिबार अपराह्न उनलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो।

सभापति लामिछानेलाई नख्खु सार्ने खबर पाएपछि पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा भैरहवा पुगेका थिए। तर कारागार प्रशासनले भेटघाट अनुमति नदिएको प्रवक्ता झाले जानकारी दिएका छन्।

advertisement

‘एकछिन भेट्न पाइन्छ कि भनेर हामी भैरहवा कारागारसम्म गएका थियौँ। तर प्रशासनले अनुमति नदिएपछि फर्किनु पर्‍यो,’ भनेर उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। धेरै अनुरोधपछि मात्रै विमानस्थलको प्रतिक्षालयमा दुई मिनेट भेट्ने मौका पाएको उनले बताएका छन्।

त्यस क्रममा आफूले लामिछानेलाई भैरहवामा कति समय बसेको सोध्दा, उनले १२६ दिन भएको जवाफ दिएका रहेछन्। साथै काठमाडौं फर्किँदै गर्दा लामिछानेले ‘पूरै नेपाल मेरो घर हो, सबै नेपाली मेरो आफन्त हुन्, राजनीतिक प्रतिशोधले यिनिहरूले मंगल ग्रह लगे पनि डराउँदिनँ।’ भनेको झाको दाबी छ।

वाग्लेले उद्धृत गरेअनुसार, लामिछानेले थपे— ‘भैरहवाको हावापानी, यहाँका आमा-बाबुहरू, सबैप्रति माया र आभार छ। प्रतिशोधले मंगल ग्रहसम्म लगे पनि म विचलित हुँदिन। यो मेरो देश हो, मेरो भूमि हो, जहाँ पठाए पनि फरक पर्दैन।’

संवादकै क्रममा लामिछानेले आफू बसेको कारागार कोठाको भित्तामा केही शब्दहरू लेखेर आएको पनि प्रवक्ता झाले बताए। उनका अनुसार लामिछानेले भनेका थिए— ‘४६३ दिनअघि कसैले प्रमाण छ भने। मैले माग्दा प्रमाण देखाएन, बरु बल प्रयोग गर्‍यो। न्याय माग्दा प्रतिशोधले घे¥यो। तर म नडराउने मान्छे हुँ। म जनताको अदालतप्रति आस्था राखेर परिवर्तनको बाटो रोजेको हुँ।’

सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामै अनुसन्धान गर्नुपर्ने भन्दै तुलसीपुर उच्च अदालतको बुटवल इजलासले आदेश दिएको थियो। गत चैत २२ गतेदेखि उनी थुनामा रहेका छन्। सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा बिगो तोकिएको धरौटी तिरेर छुट पाउने प्रयासस्वरूप उनले रूपन्देही अदालतमा रिट दिएका थिए, तर त्यसले समेत उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।

 

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com