काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भएको छ, जसमा २३९२ जना सहभागी हुनेछन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१२८ जना प्रतिनिधि र २६४ जना आयोजक रहनेछन्। २०७८ मा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूमात्र यसपटक विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य आयोजकका रूपमा रहनेछन्। सहभागीहरूलाई डिजिटल कार्ड उपलब्ध गराइने तयारी छ।
महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न स्थानमा स्वागतद्वार राख्ने निर्णय गरिएको छ। यसका लागि बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी तथा जनसंगठनहरूको तर्फबाट व्यवस्था मिलाइनेछ। त्यस्तै, करिब ३ सय स्वयंसेवक परिचालन गर्ने तयारी छ, जसको जिम्मेवारी युवा संघ, खेलकुद महासंघलगायतका जनसंगठनले लिएका छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग कुनै शुल्क नलिइने तर आवासको व्यवस्था भने उनीहरूले आफ्नै तर्फबाट गर्नुपर्नेछ। सातदोबाटोदेखि गोदावरीसम्म पुग्नका लागि सार्वजनिक यातायातको प्रबन्ध विभिन्न पार्टी कमिटीहरूले गर्नेछन्। त्यस्तै, महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सकसहित स्वास्थ्य परीक्षण डेस्क स्थापना गरिनेछ।
एमालेले विधानबारे सुझाव बुझाउन मातहतका सबै कमिटीलाई भदौ १० गतेसम्म समय दिएको छ। ती सुझावलाई समेटेर राजनीतिक प्रतिवेदन तयार गरिनेछ। महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले, विधान संशोधनसम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कार्यक्रम छ।
पार्टीले महाधिवेशन सफल बनाउन विभिन्न कमिटी गठन गरी नेताहरूलाई जिम्मेवारी तोकेको छ। व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई अझ सबल र एकताबद्ध बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्ने बताए। उनले व्यवस्थापनमा संलग्न सबै समितिहरूलाई तीव्र गतिमा काम सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया