काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री आरजु राणा देउवाको तत्काल राजीनामा माग गरेका छन्।

इजरायलमा हमासद्वारा अपहृत भई अझै पनि बन्धक अवस्थामा रहेका नेपाली युवक विपिन जोशीको उद्धारका लागि सरकारले कुनै ठोस पहल नगरेको भन्दै शाहीले परराष्ट्र मन्त्रालयमाथि गम्भीर प्रश्न उठाएका हुन्। उनका अनुसार, महिनौँ बित्दासमेत जोशीको परिवार निराशा र पीडामा छटपटाइरहेको छ तर सरकार र परराष्ट्र मन्त्रालय पूर्णतः उदासीन बनेका छन्।

advertisement

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै शाहीले परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले कूटनीतिक ज्ञान र संवेदनशीलताको पूर्ण अभाव देखिँदा नेपाली नागरिकहरूको जीवन रक्षा र विपत परेकाहरूप्रति राज्य जिम्मेवार बन्न असफल भएको आरोप लगाए।

विशेषगरी विपिन जोशीकी आमा र बहिनीको दुःखद अवस्थाप्रति सरकार अन्धो बनेको भन्दै शाहीले भने, “यस्तो असक्षम नेतृत्वले मन्त्रालय धानिरहन कुनै औचित्य छैन। मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, अनि नागरिकको जीवनसँग खेलवाड गर्ने कर्मचारीहरूलाई पनि हटाउनुपर्छ।”

यस्तो छ उनको स्टाटस् :

इजरायल–हमास द्वन्द्वका क्रममा हमासको कब्जामा परेका नेपाली नागरिक विपिनको न्याय र सकुशल रिहाइका लागि उनकी आमा र बहिनीले इजरायलमा गएर गरिरहनुभएको हारगुहार तथा उहाँहरूको कारुणिक अवस्थाले मर्माहत भएको छु । आफ्नो छोरा तथा दाजुभाइको जीवन रक्षाका लागि उहाँहरूले गरिरहनुभएको सङ्घर्ष र बगाइरहेको आँसुले मेरो मन छियाछिया भएको छ।

यस्तो संवेदनशील घडीमा नेपाल सरकार, विशेष गरी परराष्ट्र मन्त्रालयको भूमिकालाई लिएर गम्भीर प्रश्न उठेको छ। पीडित परिवार न्यायको खोजीमा भौँतारिरहेका बेला परराष्ट्र मन्त्रालयले यस विषयमा पर्याप्त र प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको गुनासो जनस्तरबाट आइरहेको छ। जनताको रगत–पसिनाबाट आर्जेको करबाट तलब–भत्ता बुझ्ने मन्त्रालयका कर्मचारी तथा पदाधिकारीहरू यस्तो मानवीय सङ्कटमा समेत निष्क्रिय रहनु अत्यन्त दुःखद र खेदजनक छ।

नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेष गरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो । यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन।
परराष्ट्र मन्त्रालयलाई यस विषयको गाम्भीर्यता बुझी तत्काल निम्न कार्यहरूका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
१. विपिनको सकुशल रिहाइका लागि उच्चस्तरीय कूटनीतिक पहल : इजरायल, हमास तथा अन्य सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल समन्वय गरी विपिनको अवस्था पत्ता लगाउन र उहाँलाई सकुशल रिहा गर्नका लागि हरसम्भव कूटनीतिक दबाब सिर्जना गरियोस्।

२. इजरायलमा रहेका विपिनका परिवारलाई आवश्यक मानसिक, नैतिक तथा कूटनीतिक सहयोग उपलब्ध गराइयोस् र उहाँहरूको लागि भइरहेका सबै प्रयासबारे नियमित रूपमा जानकारी गराइयोस्।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता: विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि दीर्घकालीन रणनीति तथा कूटनीतिक संयन्त्रलाई थप सुदृढ गरियोस्।

आशा छ, परराष्ट्र मन्त्रालयले यस ध्यानाकर्षण लाई गम्भीरतापूर्वक लिँदै विपिनको न्यायका लागि तत्काल ठोस कदम चाल्नेछ र नेपाली नागरिकको जीवन रक्षाका लागि आफ्नो कर्तव्य पूरा गर्नेछ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com