कञ्चनपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले नै नेपालको लोकतन्त्रलाई मार्गदर्शन गर्ने र मानक स्थापित गर्ने पार्टी भएको दाबी गरेका छन्।
आइतबार कञ्चनपुरमा एमालेद्वारा आयोजित ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको यात्रामा एमाले अग्रणी शक्तिको रुपमा उभिएको स्पष्ट पारे।
देशमा लोकतन्त्रको दिशानिर्देशन अरूले होइन, एमालेले के गर्छ भन्ने कुरा नै आधार र मानक बन्नेछ, पोखरेलले भने।
पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा संलग्न हुन नहुने भन्ने विषयमा एमालेले गहन विचारपछि निर्णय गरेको बताउँदै उनले सभामुख र राष्ट्रपतिको भूमिकाबीचको भिन्नता पनि स्पष्ट पारे। राष्ट्रपति निर्वाचित भएपछि सांसद पद त्याग्नुपर्छ, तर सभामुख सांसद नै रहन सक्छन्—यही फरक हो, उनले स्पष्ट गरे।
उनले पार्टीभित्र बढ्दै गएको अवसरवादलाई गम्भीर चुनौतीको रुपमा चित्रण गर्दै यसलाई नियन्त्रण नगरे घातक परिणाम भोग्नुपर्ने चेतावनी दिए। “मिसन २०८४ सफल पार्न हो भने अवसरवादलाई हराउनैपर्छ,” पोखरेलले दृढता व्यक्त गरे।
उनका अनुसार अनुशासन र एकता कुनै पनि पार्टीको शक्तिको आधार हो। “अवसरवाद र अराजकता पार्टी निर्माणका सबैभन्दा ठूलो समस्या हुन्,” उनले जोड दिए। वैचारिक तथा राजनीतिक काममा कमजोरी देखिँदा अवसरवादले टाउको उठाउने उनको तर्क थियो।
पोखरेलले व्यक्तिगत अहंकार र ‘मैले बुझेको कुरा नै सत्य हो’ भन्ने सोचका कारण पनि अवसरवाद जन्मिने बताए। “यस्तो प्रवृत्तिले नेताहरूलाई गलत बाटोमा डोर्याउँछ,” उनले टिप्पणी गरे।
चुनावका समयमा पार्टी सबैभन्दा बढी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले चुनाव आउँदा मात्र एमाले छाड्ने प्रवृत्ति बढ्दै गएकोमा असन्तुष्टि जनाए।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया