काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा अस्थिरता फैलाउने खेलमा प्रतिगामी शक्ति, रास्वपा र माओवादी संलग्न रहेको आरोप लगाएका छन्। उनले यस्ता शक्तिहरूलाई नेपाली जनताले अस्वीकार गरिसकेकाले अबको राजनीतिक भविष्य उनीहरूको पक्षमा नहुने स्पष्ट पारे।

नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले केही समयअघि प्रतिगामीहरूले अस्थिरता मच्चाउने प्रयास गरे पनि जनताले त्यसलाई विफल पारेको स्मरण गरे।

advertisement

‘राजावादी शक्तिको रुपमा आएका प्रतिगामीहरूको प्रयास जनताले तिरस्कार गरिसकेका छन्। उनीहरू आज छिन्नभिन्न अवस्थामा पुगेका छन्,’ पौडेलले भने, त्यसैले व्यर्थमा राजावादी कित्तामा लागेर जीवनको मूल्यवान समय नष्ट नगर्नुहोस्।

उनका अनुसार गणतन्त्रलाई चुनौती दिने काम ‘कुइनोले पहरो धकेल्न खोजेजस्तो निरर्थक’ हुन्छ।

रास्वपालाई लक्षित गर्दै उनले यसलाई भविष्यविहीन दोस्रो शक्ति भएको टिप्पणी गरे। “मनसुन ढिला भएपछि केही दिन खहरे खोला उग्र देखिन्छन्, तर पानी थामिएपछि त्यहाँ कमिला मात्रै दौडन्छन्। राजनीति पनि त्यस्तै हो—आज खहरेजस्ता देखिने शक्तिको आयु लामो हुँदैन,” पौडेलले उदाहरण दिए।

उनले विरोध र भ्रममा आधारित राजनीति गरेर जनतालाई अलमल पार्ने प्रयास भइरहेको भए पनि जनताले त्यसको नियत बुझिसकेको बताए। “म युवाहरूलाई आग्रह गर्छु—यस्ता क्षणिक खहरे राजनीतिको भेलमा नहेलिनुहोस्, जीवनको महत्त्वपूर्ण समय खेर नफाल्नुहोस्,” उनले चेतावनी दिए।

त्यस्तै, अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई पनि उनले निशाना बनाए। “देशमा सरकार ढालेर मात्रै राजनीति गर्ने अर्को शक्ति माओवादी हो। सरकार ढाल्ने प्रयास असफल भएपछि अहिले ‘सरकार हाम्रो प्राथमिकता होइन’ भनेर भ्रम फैलाइरहेका छन्। तर, जनताले यस्तो राजनीतिक चरित्रलाई पनि अस्वीकार गरिसकेका छन्,” पौडेलको भनाइ थियो।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com