काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षक सेवा प्रवेशको उमेर सीमा ४० वर्ष कायम गर्नुपर्ने माग उठेको छ। सरोकारवालाहरूको तर्फबाट राष्ट्रिय संघर्ष समितिले आइतबार संसद्को शिक्षा समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग प्रस्तुत गरेको हो।
समितिका संयोजक भक्तबहादुर बुढा र सह–संयोजक गोविन्द भण्डारीले बुझाएको ध्यानाकर्षण पत्रमा शिक्षक सेवामा प्रवेश उमेर सीमा ४० वर्ष कायम गर्नुपर्ने र तहअनुसार शैक्षिक योग्यताको प्रावधान स्पष्ट गर्नुपर्ने उल्लेख छ। विशेषगरी आधारभूत तह (प्रावि र निमावि) मा प्लस–२ अनिवार्य योग्यता निर्धारण नगरी विधेयक अघि बढाइएकोमा समितिले आपत्ति जनाएको छ।
संघर्ष समितिले यसअघि नेपाल सरकारसँग भएका सम्झौता सम्झाउँदै, सरकारले ती सम्झौता तोड्ने छुट नभएको प्रष्ट पारेको छ। “हामीले उठाएका मागहरू केवल व्यक्तिगत वा समूहगत मुद्दा होइनन्, यो राष्ट्रिय महत्वको विषय र युवा पुस्ताको आवाज हो,” समितिले भनेको छ।
समितिले अझै थप्दै, संविधानले सुनिश्चित गरेका मौलिक अधिकारलाई विपरीत असर पार्ने जालसाजी वा विदेशी इसारामा युवालाई उपेक्षा गर्ने अभ्यास नगरिन आग्रह गरेको छ। “संविधानको धारा १७, ३३ र ३४ अनुसार सबै नागरिकलाई सुनिश्चित गरिएका हक र अधिकारलाई सुरक्षित राख्दै, विगतमा पाएका कानुनी प्रावधानलाई पनि जोगाउन आवश्यक छ,” ध्यानाकर्षण पत्रमा उल्लेख छ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया