धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–७ मा आमा र छोरीको शव फेला परेको छ। साउन २९ गतेदेखि बेपत्ता भएकी २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनकी छोरी अनुजा चौधरी बिहान मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उनीहरू आफ्नै घर नजिकैको गौरीशंकर सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहका अनुसार आमा र छोरी एउटै रूखमा फरक–फरक पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए।
आरती र छोरी बेपत्ता भएपछि परिवारले प्रहरीमा निवेदन दिएको थियो। सोही आधारमा प्रहरीले खोजी जारी राख्दा शनिबार बिहान उनीहरूको शव फेला परेको हो। डगौरा आफ्ना श्रीमान्, सासू र देवरदेउरानीसँगै बस्दै आएकी थिइन्।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार












प्रतिक्रिया