काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दलहरूको भुलभुलैयामा नफस्न आग्रह गरेका छन्। उनले यस्तो दलहरूको राजनीति क्षणिक हुने बताउँदै जीवनको महत्वपूर्ण समय व्यर्थ नफाल्न चेतावनी दिएका हुन्।
आइतबार नेपाल पत्रकार महासंघ, पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पौडेलले रास्वपालाई ‘खहरे खोला’ को संज्ञा दिए।
उनले भने, “यसपालि मनसुन ढिलो सुरु भएको कारण अहिले खहरे खोलाहरू बढेका छन्। तर मनसुन सकिएपछि त्यही खहरेमा कमिला मात्र कुद्छ। राजनीतिमा पनि यस्तै खहरे देखिएका छन्, जसको आयु लामो हुँदैन।”
पौडेलले विरोधको राजनीति र जनतामा भ्रम फैलाउने काममार्फत रास्वपाले जनतालाई अलमलमा पार्न खोजे पनि जनताले यथार्थ बुझिसकेको टिप्पणी गरे।
उनले थपे, “म युवाहरुलाई आग्रह गर्दछु, यस्तो खहरे राजनीतिमा नहेलिनुहोस्। भ्रममा परेर आफ्नो जीवनको मूल्यवान् समय खेर नफाल्नुहोस्।”
पौडेलका अनुसार मुलुकमा अस्थिरता चाहने शक्तिहरू तीनवटा छन्— राजावादी, रास्वपा र माओवादी। यी शक्तिहरूले क्षणिक लाभका लागि जनतालाई भ्रममा पार्ने प्रयास गर्दै आएको उनको आरोप छ।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया