काठमाडौं । सरकारले गत आर्थिक वर्षका लागि तोकेको वार्षिक क्रियाकलाप र माइलस्टोन कार्यान्वयनमा गृह मन्त्रालय शीर्ष स्थानमा रहेको छ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा रहेको मन्त्रालयले पाँच वर्षयता उत्कृष्ट प्रगति देखाउँदै माइलस्टोन कार्यान्वयनमा सर्वोत्कृष्ट स्थान हासिल गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२’ अनुसार गृह मन्त्रालयले निर्धारण भएका १०६ मध्ये ९३ वटा माइलस्टोन पूरा गरेको छ। बाँकी १३ वटा चालु आर्थिक वर्षमा जारी रहेका छन्।
प्रतिवेदनअनुसार गृह मन्त्रालयले ८८ प्रतिशत माइलस्टोन कार्यान्वयन गरेर पहिलो स्थान हासिल गरेको छ भने दोस्रो स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत कार्यान्वयनसहित रहेको छ। अन्य मन्त्रालयमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति देखाएको छ।
गत पाँच वर्षमा गृह मन्त्रालयको माइलस्टोन प्रगतिमा क्रमिक सुधार देखिन्छ; आर्थिक वर्ष २०७७/७८ मा ८६.८ प्रतिशत, २०७८/७९ मा ६४.५ प्रतिशत, २०७९/८० मा ६९.१ प्रतिशत र २०८०/८१ मा ६८ प्रतिशत माइलस्टोन पूरा भएको थियो।
सरकारले माइलस्टोनको प्रगति शासकीय स्वरुप, पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा वर्गीकरण गरेको थियो। यस अनुसार नीति, कार्यक्रम र बजेट कार्यान्वयनसमेत मापनको आधार बनाइएको छ।
गृहमन्त्री रमेश लेखकका अनुसार मन्त्रालयले पहिलो वर्षमा नीतिगत तथा कानूनी सुधार, व्यवस्था विरोधी गतिविधि नियन्त्रण, अपराध अनुसन्धान र फैसला कार्यान्वयन, प्रहरी सेवा सुधारका लागि डेष्क र महाशाखा गठन, लागूऔषधविरुद्ध महाअभियान, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजश्व चुहावट नियन्त्रण, सीमापार अपराध रोकथाम, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमन सुधार तथा निःशुल्क हेलिकप्टर उद्धार जस्ता महत्वपूर्ण पहलहरू गरेको छ।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया