काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध तत्काल रोक्न सकिने दाबी गरेका छन्, तर त्यसका लागि युक्रेनले नेटोमा प्रवेश गर्ने आकांक्षा त्याग्नुपर्ने शर्त राखेका छन्।
आइतबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उनले भने, “राष्ट्रपति भोलोडिमिर जेलिन्स्की चाहे युद्ध तुरुन्तै अन्त्य हुन सक्छ, वा उनले यसलाई अझै लम्ब्याउन सक्छन्। तर, २०१४ मा मस्कोले कब्जा गरेको क्राइमिया फिर्ता पाइँदैन र युक्रेन नेटोमा सामेल हुन सक्दैन। केही कुरा कहिल्यै बदलिँदैनन्।”
ट्रम्पले यो टिप्पणी ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलिन्स्कीलाई स्वागत गर्नु केही घण्टाअघि गरेका हुन्। उनको भनाइ अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखर वार्तापछि आएको हो, जहाँ उनले युद्धविरामको सट्टा स्थायी शान्ति सम्झौताको खोजी गर्ने घोषणा गरेका थिए।
अमेरिकी दूतावासका अनुसार, सो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि “नाटो–जस्तै सुरक्षा व्यवस्था” सम्भव हुन सक्ने संकेत दिएका छन्। लामो समयदेखि पुटिन युक्रेनको नेटो प्रवेशको विरोधी रहँदै आएका छन्।
ट्रम्पले पुनः दोहोर्याएका छन् कि युद्ध रोक्ने जिम्मा अहिले युक्रेनी नेतृत्वकै हातमा छ र त्यसको पूर्वशर्त क्राइमिया र नेटोसम्बन्धी मुद्दामा सम्झौता हो।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया