काठमाडौं । प्रधानमन्त्रीले सूचना–सञ्चार प्रविधि (आइटी/आइसिटी) अहिले केवल सुशासनकै लागि होइन, दैनन्दिन जीवन र विकासका लागि अपरिहार्य बनेको बताएका छन्। सोमबार आयोजित विश्व आइटी सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले ‘डिजिटल नेपाल’ अभियानले देशको शिक्षा, स्वास्थ्य र प्रशासनिक क्षेत्रमा ठूला उपलब्धि दिएको दाबी गरे।
उनका अनुसार, आइटीलाई सुशासन मजबुत पार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समाजलाई व्यवस्थित र पारदर्शी बनाउन प्रयोग गर्न सकिन्छ। उनले उदाहरणस्वरूप गत वर्षको एसइइ परीक्षामा निजी युवा समूहले अनलाइन कक्षाहरू सुरु गरेपछि पास हुने दर ४८ प्रतिशतबाट ६२ प्रतिशतसम्म पुगेको बताए। “सामान्य लगानीबाटै लाखौँ विद्यार्थीलाई फाइदा पुग्यो,” प्रधानमन्त्रीको भनाइ छ।
स्वास्थ्य क्षेत्रमा समेत अनलाइन परीक्षण र उपचार सेवा विस्तार भइसकेको उल्लेख गर्दै उनले साना अस्पतालले ठूला अस्पतालका विशेषज्ञसँग प्रत्यक्ष सेवा लिन थालेको बताए। पछिल्लो एक वर्षमा सरकारले डिजिटल पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकतामा राखेको उनले जोड दिए।
प्रधानमन्त्रीले नेपालका युवालाई “डिजिटल फ्रेन्डली” भन्दै उनीहरूको नवप्रवर्तनशील क्षमतालाई देशको डेमोग्राफिक डिभिडेन्डको रुपमा प्रयोग गर्न सकिने बताए। तर आइटीको गलत प्रयोगले मिसइन्फर्मेसन र डिसइन्फर्मेसन जस्ता चुनौती पनि ल्याउने भएकाले सचेत रहनुपर्नेमा उनले जोड दिए।
उनले हालै सरकारले एआइ नीति, डिजिटल नेपाल फ्रेमवर्क–२.० र आइटी निर्यातलाई सहज बनाउन कानुनी व्यवस्था गरेको जानकारी पनि दिए। “समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो। त्यसलाई पुरा गर्न विकास र सुशासनमा प्रविधिको अधिकतम् उपयोग अनिवार्य छ,” उनले भने।
प्रधानमन्त्रीले सम्मेलनमा सहभागीहरूलाई शुभकामना दिँदै सूचना–सञ्चार प्रविधिको सदुपयोगमार्फत शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र राष्ट्रिय एकतालाई सुदृढ बनाउन आह्वान गरे।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया