काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा सुधार नगरेसम्म जनतामा बढ्दो निराशा कम नहुने बताएका छन्।
पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सत्तापक्ष हाबी हुने प्रवृत्तिका कारण संसद्मा जनताका आवाज कमजोर बनेको टिप्पणी गरे। “बहुमतमा सरकार भएकाले प्रतिपक्षका मागलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको छ। यसलाई रोक्नुपर्छ,” पुनले भने।
उनका अनुसार, संसद् सत्तापक्षको औपचारिकतामा मात्र सीमित नहुने र जनताको आकांक्षा व्यक्त गर्ने वास्तविक थलो बन्नुपर्ने हो। तर, हाल कतिपय सांसदले पूर्ण कार्यकालमै सक्रिय भूमिका नखेलेको भन्दै उनले आलोचना गरे। “कानुन निर्माणमा सहभागी नहुने, छलफल नगर्ने र संशोधन प्रस्ताव पनि नल्याई कार्यकाल बिताउने सांसदहरू छन्,” उनले टिप्पणी गरे।
पुनले आफ्नो दल संसद्लाई प्रभावकारी र जनमुखी बनाउन निरन्तर प्रयासरत रहने उल्लेख गर्दै, “संसदलाई औपचारिकता होइन, जनताको आवश्यकता र भावनाको प्रतिबिम्ब बनाउने दिशामा काम गर्नेछौं,” भन्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया