काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को पोखराको फेवा तालमा डुङ्गा हाँकिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। पोष्ट सार्वजनिक भएको करिब १६ घण्टा भइसकेको छ र यसले झन्डै तीन लाख रियाक्शन र १३ हजारभन्दा बढी कमेन्ट संकलन गरिसकेको छ।
सेतो भेष्ट लगाएर डुङ्गा हाँकिरहेको उनको दृश्य सामान्य रमाइलो क्षणको रूपमा लिन सकिन्छ। तर, राजनीतिक दृष्टिले हेर्दा यो तस्बिर प्रतीकात्मक अर्थ बोकेको छ। पानीको फराकिलो सतहमा सानो डुङ्गा हाँकिरहेका बालेनलाई धेरैले नेपालको राजनीति, जहाँ पुराना शक्ति केन्द्रबीच नयाँ बाटो खोज्ने प्रयास भइरहेको छ, सँग तुलना गरेका छन्।
सो तस्बिरमा आएका कमेन्टहरूले यस्तै भावनालाई झल्काएका छन्। केहीले ‘डुब्न लागेको देशलाई यसरी दिशा दिनुपर्छ’ भने भने केहीले नयाँ पुस्तालाई एकत्रित भएर अघि बढ्न सुझाव दिएका छन्।
समर्थन र चासोका यी प्रतिक्रियाले बालेनलाई केवल काठमाडौंको सिमित राजनीतिक परिधिमा मात्र नभई राष्ट्रिय स्तरमा पनि केन्द्रमा ल्याइरहेको देखिन्छ। विमल कटुवालले लेखेका छन्, “फेवा तालमा रमाइरहेका बालेनको दृश्य सामान्य रमाइलो मात्रै नभई नयाँ पुस्ताको राजनीतिमा नयाँ खाँचो र आशाको प्रतीक बनेको छ। आशाको यो डुङ्गा कहिल्यै नडुबोस्।”
यसरी सामाजिक सञ्जालमा फैलिएको तस्बिरले बालेनको व्यक्तित्व र नयाँ राजनीतिक सोचप्रति जनताको सकारात्मक प्रतिक्रिया दर्शाएको छ।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया