कञ्चनपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो अराजकता र भ्रम फैलिन नदिन सरकारले केही नियन्त्रणका उपाय अपनाएको बताएका छन्।
सोमबार कञ्चनपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, “सामाजिक सञ्जालले पारम्परिक आमसञ्चार माध्यमको प्रभाव कम गरिरहेको छ। स्वतन्त्रताको नाममा अराजकता बढेकोले सरकारले यसलाई व्यवस्थित गर्न खोजेको हो।”
पोखरेलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले सूचनाको पहुँच र हक सुनिश्चित गर्ने उद्देश्य राखेको दाबी गर्दै भने, “लोकतन्त्रका लागि लडेका पार्टीहरूले संविधान र जनअधिकारलाई कुण्ठित गर्ने कानुन बनाउँदैनन्, त्यसमा ढुक्क रहनुस्। सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको र स्वतन्त्रताको नाममा अराजकता बढेकोले सरकारले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको हो।”
उनले वर्तमान सरकार अत्यन्त प्रभावकारी ढंगले काम गरिरहेको पनि बताएका छन्। एमाले र कांग्रेसको सहकार्यमा बनेको यस सरकारले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रलाई पुनः लयमा ल्याउने, सुशासन स्थापित गर्ने र दीर्घकालीन स्थायित्वको आधार तयार गर्ने उद्देश्य पूरा गर्दै आएको पोखरेलको भनाइ थियो।
पूर्वसरकारको समयमा राष्ट्रसेवक कर्मचारीले समयमै तलब नपाउने, निर्माण व्यवसायीले कामको भुक्तानी नपाउने जस्ता समस्या रहेको तर वर्तमान सरकारले आर्थिक सूचकहरूमा उल्लेख्य सुधार गरेको उनले उल्लेख गरे। उनका अनुसार पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिति उच्च स्तरमा पुगेको छ र व्यापार–व्यवसायमा उल्लेख्य वृद्धि भएको छ।
पोखरेलले आयात र निर्यात दुवै बढेको जानकारी दिँदै सामाजिक सञ्जालमा फैलिने अर्धसत्य र हल्लामा आधारित आलोचना सरकारको वास्तविक प्रभावकारितालाई मापन गर्ने आधार हुन नसक्ने टिप्पणी पनि गरेका छन्।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया