विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को सक्रिय सदस्य र कार्यकर्ता भएको स्पष्ट पारेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भनिन् कि पार्टीको नीति र कार्यक्रम अनुसार आफू अघि बढ्ने प्रतिबद्धता कायम छ।
४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै भण्डारीले भनिन्, “म नेकपा एमाले नै हो। म एमालेको सदस्य भएर राष्ट्रपतिमा निर्वाचित भएकी हुँ। म एमालेको कार्यकर्ता हुँ र पार्टीको हितमा काम गर्दै आइरहेकी छु।”
राष्ट्रपतिका रूपमा भूमिका र राजतन्त्र तथा गणतन्त्रबीचको भिन्नतामा उनले भनिन्, “राजतन्त्र र गणतन्त्र फरक हुन्छ। राष्ट्रपति पद आवधिक हुन्छ। जोसुकै नागरिक जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ। कार्यकाल सकिएपछि उनी आफ्नो सामान्य जीवनमा फर्कन सक्ने अवस्था हुन्छ।”
पार्टीभित्र आफ्नो भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोध्दा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको स्पष्ट पारिन्। उनले भनिन्, “पार्टीको औपचारिक निर्णय के हो भन्ने मलाई थाहा छैन। सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन। कमिटीमा बस्नेहरूलाई मात्र थाहा होला।”
पूर्वराष्ट्रपति भण्डारीले थपिन्, “म ४५ वर्षदेखि नेकपा एमालेको संगठित सदस्य हुँ। यहाँ विराटनगरमै मैले शपथ खाएको हुँ। राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीको विशेष निर्णयअनुसार पठाइएँ र कार्यकाल सकिएपछि विधिवत सदस्यता नवीकरण गरेकी हुँ।”
आलोचना र व्यक्तिगत आरोपका विषयमा उनले भनिन्, “म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि मुक्त छैन।” ‘गुट चलाएको’ आरोपबारे उनले प्रतिवाद गर्दै भनिन्, “मलाई गुट चलाउन आउँदैन।” मदन भण्डारी फाउन्डेसनसम्बन्धी प्रश्नमा भने उनले पार्टीका नेताहरूसँग सोध्न सुझाव दिइन्।
हालै कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटबारे उनले सामान्य रूपमा लिनुपर्ने बताउँदै भनिन्, “शेखर कोइराला पनि मोरङ विराटनगरकै हुन्। हामी पनि त्यहीँ जन्मेर हुर्केका हौं। त्यस भेटलाई ठूलो हाउगुजी बनाउनु आवश्यक छैन।”
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया