विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले सदस्यता नवीकरण नगर्ने निर्णयबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको स्पष्ट पार्दै आफू अहिले पनि नेकपा (एमाले)को संगठित सदस्य रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले पार्टीको निर्णयबारे सबै सदस्यलाई जानकारी नहुने बताइन्।
उनले भनिन्, पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा छैन। सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन। कमिटीमा बस्नेहरूलाई थाहा होला। साथै उनले आफू पार्टीको नीति र कार्यक्रमअनुसार संगठित सदस्यको भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन्। अहिले म एमालेको संगठित सदस्य हुँ र नेकपा एमालेको नीति अनुसार नै आफ्नो जिम्मेवारी पूरा गर्छु, भण्डारीले भनिन्।
पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कन सक्ने सम्भावनाबारे पनि टिप्पणी गर्दै राजतन्त्र र गणतन्त्रबीचको भिन्नता औंल्याइन्। उनले भनिन्, राष्ट्रपतिको पद आवधिक हुन्छ। जोसुकै पनि जनताको सहभागिताबाट निर्वाचित भएर आउन सक्छ र कार्यकाल सकिएपछि आफ्नो पुरानै सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्छ।
वाम एकताको सम्भावना सम्बन्धमा प्रश्नमा भण्डारीले विभिन्न वामपन्थी पार्टीहरू भएकोले पूर्ण बलियो सम्भावना देख्न नमिल्ने बताइन्। “सम्भावनै छैन भन्न मिल्दैन, तर म यसलाई अत्यधिक बलियो पनि देख्दिनँ,” उनले भनिन्।
पूर्वराष्ट्रपतिले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेट सामान्य स्वाभाविक भेट भएको भन्दै यसलाई हाउगुजी बनाउनुपर्ने विषय नभएको उल्लेख गरिन्।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया