काठमाडाैं । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्दै सेवाग्राहीका लागि थप गरिएको दुईवटा रिपोर्ट भेन्डिङ मेसिन समेत शुभारम्भ गरेका छन्।
मन्त्री पौडेलका अनुसार यो पहल सरकारले सार्वजनिक गरेको स्वास्थ्य क्षेत्र सुदृढीकरण योजनाअनुसार अघि बढाइएको हो। उनले सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई आत्मनिर्भर र विश्वस्तरीय बनाउन निरन्तर प्रयास भइरहेको बताए।
के हो डिजिटल पीसीआर ?
डिजिटल पीसीआर हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा धेरै संवेदनशील र उन्नत प्रविधि हो। यसले रगत वा नमुनामा न्यून मात्रामा रहेको डीएनएलाई पनि सटीक रूपमा पहिचान गर्न सक्छ। यस प्रविधिबाट क्यान्सर उपचारमा महत्वपूर्ण मानिने ईजिएफआर, बीसीआर-एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण तथा रगतमा रहेको ट्युमर डीएनए पहिचान नेपालमै गर्न सकिने भएको छ।
सेवाग्राहीका लागि थप सुविधा
नयाँ ‘रिपोर्ट भेन्डिङ मेसिन’ जडानसँगै अब सेवाग्राहीले लामो समय लाइन बस्न नपरी युनिक कोड प्रयोग गरी आफैं मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने भएका छन्।
यस प्रविधि विस्तारले नेपालमा रोग निदान क्षमतामा नयाँ आयाम थप्ने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास स्वास्थ्य मन्त्रालयले लिएको छ।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार












प्रतिक्रिया