काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अब नेपालमा केन्द्रीकृत र सही विचार बोकेको नयाँ कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै उनले सबै कम्युनिस्ट तथा माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण आवश्यक भएको बताए। “यो कुनै पार्टीसँग गाभिने वा कसैलाई खाइदिने कुरा होइन, यो देशकै आवश्यकता हो,” उनले स्पष्ट पारे।

advertisement

उनका अनुसार माओवादी आन्दोलनलाई एकताबद्ध गर्न आफूहरू तयार रहेको तर त्यो कार्य अहिलेसम्मको ढाँचामा नभई नयाँ विचार र नयाँ आधारमा हुनुपर्नेछ।

आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टीले पैसाको बलमा नभई विचार र व्यवहारको आधारमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता उनले जनाए।

विप्लवले प्रमुख दलहरूले समाजवादलाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको आरोप लगाए। उनले राजनीतिक नेताहरू भ्रष्टाचारमा फस्दा युवाहरू निराश भएको र देश दलाल, तस्कर तथा मानव बेचबिखनमा संलग्न समूहहरूको चंगुलमा परेको दाबी गरे।

उनले भने, “काँग्रेसभित्रको भ्रष्टाचारको कुरा अर्को काँग्रेसले नै गर्छ, एमालेभित्र नेताहरू एकअर्कालाई भ्रष्टाचारी भन्छन्, माओवादीभित्र कोही अरबपति भइसकेका छन् भने कोही सडकमा छन् भन्ने बहस छ। यस्ता अवस्थाले जनतालाई वाक्क पारिसकेको छ।”

विप्लवका अनुसार जनतामाझ अहिले “पुराना पार्टी र पुराना नेताबाट केही हुनेवाला छैन” भन्ने धारणा बढ्दो छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com