काठमाडौं । आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ‘अकबरे सुन’ सँग तुलना गरेका छन्। उनले आफू कुनै किसिमको ठगीमा संलग्न नरहेको स्पष्ट पार्दै, जस्तोसुकै परिस्थितिमा पनि आफैंलाई प्रमाणित गर्न सक्ने दाबी गरे।
चैत १५ गते तीनकुनेमा भएको घटनापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, “म कुनै ठग होइन, म अकबरे सुन हुँ। अकबरे सुनलाई जहाँ घोटे पनि पहेँलै चम्किन्छ। मलाई घोटेर जाँच्न सकिन्छ, तर कुनै काण्ड वा आरोप थोपर्ने ठाउँ छैन।”
आफूलाई निष्क्रिय बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सक्रिय रहेको उल्लेख गर्दै उनले दिल्लीमा रहेका केही मारवाडी र तस्करहरूले पैसा देखाएर आफ्नो अभियान रोक्न दबाब दिएको तर आफूले अस्वीकार गरेको खुलासा गरे। “मलाई किन्न खोजियो, तर म बिक्दिनँ। मलाई पैसा होइन, नेपाल र नेपाली चाहिएको छ,” उनले भने।
७८ दिन हिरासत र जेल जीवन बिताउँदा पनि आफूलाई कुनै पछुतो नभएको बरु गर्व लागेको उनले सुनाए। “मेरो छोरो हरेक दिन मलाई भेट्न आउँथ्यो, त्यही देख्दा मलाई लाग्थ्यो— अरूका छोराछोरी पनि विदेशबाट फर्कन सकून् भनेर म लडिरहेको छु,” उनले भावुक हुँदै बताए।
अब अभियानलाई नयाँ मोड दिने घोषणा गर्दै प्रसाईंले राजनीतिक दल गठन गर्ने तयारी गरेको जानकारी दिए। “अब मैले तपाईंहरूको सुझाव र जनताको चाहनाअनुसार राजनीतिक दल बनाएर अघि बढ्ने निर्णय गरेको छु। केही समयमै दलको नाम घोषणा हुनेछ,” उनले बताए।
प्रसाईंले अघिल्लो संघर्षलाई एउटा अध्यायको अन्त्य ठहर गर्दै नयाँ चरण सुरु भएको घोषणा गरे। “अबको क्रान्ति आर्थिक क्रान्ति हो। संविधानले नागरिकलाई खान-लाउन सक्ने अवस्था दिन सकेको छैन। गरिबको घर-जग्गा फिर्ता हुनुपर्छ, त्यो संविधान खोजेको हो,” उनले जोड दिए।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया