काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीको निर्देशनअनुसार आफूले काम गरेको तर त्यसको विस्तृत जानकारी आफूलाई नभएको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीहरूको जिज्ञासामा बास्कोटाले संक्षिप्त र व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिए। पत्रकारको “निर्देशन के थियो?” भन्ने प्रश्नमा उनले भने, “निर्देशनअनुसार काम भयो, सूचना थाहा भएन।”
बास्कोटाले जानकारी दिए अनुसार, सुरुमा उनलाई दलको कार्यालयमा आउन भनिएको र त्यसपछि प्रमुख सचेतकसँग भेट्न निर्देशन दिइएको थियो। उनले भने, “प्रमुख सचेतकज्यूसँग भेट भयो, उहाँले ‘ठीक छ’ भन्नुभयो, त्यसपछि निस्कियो।”
भित्र के कुराकानी भयो भन्ने प्रश्नमा बास्कोटाले हाँस्दै जवाफ दिए, “के कुरा हुनु? यस्तै सञ्चो-बिसञ्चो के छ कसो छ भनेर कुरा भयो।” उनले कुनै विशेष छलफल नभएको र भेटघाट सामान्य मात्र रहेको स्पष्ट पारे।
संसदीय तहमा उपसभामुखलाई हटाउन सांसदहरूसँग हस्ताक्षर संकलन भइरहेको अवस्थामा यी प्रतिक्रिया सार्वजनिक भएका हुन्।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया