काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउन नेपाली कांग्रेसले संकलन गरिरहेको सांसदहरूको हस्ताक्षरमा केही सांसदहरूले अस्वीकार जनाएका छन्। विशेषगरी नेता डा. शेखर कोइरालाका निकट सांसदहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने निर्णय लिएका हुन्।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएका थिए। तर, डा. कोइरालाका निकट सांसदहरूले प्रयोजन खुलेपछि मात्र हस्ताक्षर गर्ने सर्त राखेका थिए। स्रोतका अनुसार सांसद कान्छाराम तामाङले डा. कोइरालालाई फोन गरेर हस्ताक्षर गर्ने वा नगर्ने निर्णय सोधे, जसमा कोइरालाले “प्रयोजन खुल्ने भए गर्नुस्, नखुल्ने भए नगर्नुस्” जवाफ दिएका थिए।
त्यसैगरी डा. कोइरालाले हृदयराज थानी, सरिता प्रसाईँ, दीपक गिरी लगायत आफ्ना निकट सांसदहरूसँग पनि छलफल गरेका थिए। छलफलका क्रममा ती सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी बनेको थियो। त्यसपछि कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन प्रक्रिया अघि बढाएका छन्।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया