काठमाडौं । संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदच्युत गर्ने प्रयाससहित सत्तापक्षले अघि सारेका सबै प्रकारका षड्यन्त्रको कडाइका साथ प्रतिवाद गर्ने निर्णय गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको संयुक्त बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्।
‘हामीले सत्तापक्षले गरेको वा गर्ने सबैखाले षड्यन्त्रको प्रतिरोध गर्ने निर्णय गरेका छौँ,’ परियारले भने।
यस्तै, नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले कांग्रेस र एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउने उद्देश्यले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाए।
‘उनीहरूको योजना सफल हुन दिँदैनौँ,’ पाण्डेले स्पष्ट पारे, ‘उपसभामुखलाई हटाउने सत्तापक्षको प्रयासको प्रतिवाद गर्दै त्यसलाई रोक्ने सहमति भएको छ।’
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया