काठमाडौं ।  विश्‍वसामु नेपालको पर्यटन प्रबर्दधन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । यस अन्तर्गत #LifetimeExperiences नामक विशेष अभियान सुरु गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ ।

समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रबर्द्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताएका छन् । उनले भने, “यो केवल एउटा सम्झौतामात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो । टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्‍याउने अवसर पाएका छौं । यो अभियानले नेपाललाई विश्‍वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ ।” मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

advertisement

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले महत्वपूर्ण समझदारी भएको उल्लेख गर्दै भने, “नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्‍याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ ।”
सीईओ जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्‍याउनेछ । उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत् प्रचारप्रसार गर्ने सीईओ जोशीले बताएका छन् ।
साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत् नेपालका कथाहरु सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com