काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू तत्काल पदबाट अलग हुन तयार रहेको स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले युवाहरूको समय आएको र अब देशको विकासमा उनीहरूले अग्रणी भूमिका खेल्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, “यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ र नयाँ काम गर्नुपर्छ। यदि युवाहरू तयार छन् भने म पद छोड्न तयार छु। म चाहन्छु उनीहरूलाई उत्साह मिलोस् र अगाडि बढून्।”
उनले वैज्ञानिक खोज, अनुसन्धान र नयाँ आविष्कार तथा प्रगतिले नेपालमा विकासको नयाँ ढोका खोल्ने दाबी पनि गरे। प्रधानमन्त्रीले नयाँ सोच र ढंगले काम गर्ने युवाहरूप्रति सरकारले पूर्ण सहयोग र समर्थन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, प्रधानमन्त्री ओलीले नेपालमा लगानी र व्यवसाय गर्न कुनै बाधा नरहेको दाबी गर्दै मुलुकलाई लगानीमैत्री वातावरण बनाइएको जानकारी दिए।
उनको भनाइ अनुसार, सरकारले पूर्वाधार विकास र नीतिगत व्यवस्थाहरू तयार पारेकोले युवाहरूले नयाँ अवसरहरूको लाभ उठाउँदै देशको समृद्धिमा योगदान दिन सक्नेछन्।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया