काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग फोनमार्फत छलफल गरेकी छन्।

अहिले अमेरिका भ्रमणमा रहेकी उपसभामुखले मंगलबार नेता कोइरालालाई फोन गरी आफ्नो पदलाई लिएर सत्तारुढ दलले उठाइरहेको कदमबारे कुराकानी गरेकी हुन्। कांग्रेस र नेकपा (एमाले) ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदबाट हटाउने तयारीका लागि सांसदहरूको हस्ताक्षर सङ्कलन गरेपछि उनले यस्तो कदम चाल्नुपर्ने देखेकी हुन्।

advertisement

उपसभामुख रानाले भनिन्, “मैले शेखर कोइरालाजीलाई फोन गरेर प्रजातन्त्रका लागि लडेको कांग्रेस पार्टीले के गर्दैछ भनेर बुझ्न खोजेँ। उहाँले मेरो पक्षबाट कुरा गरिराखेको जानकारी दिनुभयो। मैले उहाँलाई बहुमतको दुरुपयोग हुन नदिन आग्रह पनि गरेको छु।”

गत वर्ष पनि उपसभामुखलाई हटाउने प्रयास भएको थियो, तर नेता कोइरालाले विरोध गरेका थिए। यस वर्ष पनि कांग्रेसले संसदीय दलमा सांसदहरूलाई बोलाएर हस्ताक्षर सङ्कलन गर्दा कोइरालाकट्न केही सांसदहरूले प्रयोजन नखुलाएकाले खाली कागजमा हस्ताक्षर नगर्ने निर्णय गरेका थिए।

उपसभामुख रानाले भदौ १३ गते स्वदेश फर्किने जानकारी दिँदै भनिन्, “म आउने कार्यक्रम पर्सी छ, अहिले हतारिएर फर्किनु पर्ने अवस्था छैन।”

गत वर्ष भिजिट भिसासम्बन्धी पत्र अमेरिकाको दूतावासलाई पठाएको विषय बाहिरिएको थियो। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले उपसभामुखलाई राजीनामा दिन सुझाव दिएका थिए। त्यस्तै, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उपसभामुखविरुद्ध उजुरी परेको थियो।

उक्त उजुरीमा उल्लेख छ कि उपसभामुखले सन् २०२३ मा पदको दुरुपयोग गर्दै अमेरिकी दूतावासमा गैरसांसद व्यक्तिको भिसा सिफारिस गरेको आरोप छ। तर, त्यो विषय अघि बढ्न सकेको थिएन।

हाल, कांग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारीमा छन्। संवैधानिक परिषदमा उपसभामुख पनि रहने भएकाले सत्तापक्ष र प्रतिपक्षीको मत बराबर हुँदा निर्वाचन आयोगमा नियुक्ति प्रक्रिया अझै रोकिएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com