काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्डदेखि दासढुङ्गा काण्डसम्मका घटनाबारे अझै रहस्य कायम रहेको बताएका छन्।
मंगलबार एक कार्यक्रममा बोल्दै उनले देशका महत्वपूर्ण घटनाहरू अझै अनुत्तरित रहेको उल्लेख गर्दै प्रश्न गरे, “दरबार हत्याकाण्ड कसरी भयो ? दासढुङ्गा दुर्घटना कसले गरायो ?”। राष्ट्रप्रमुखकै सुरक्षा घेराभित्र दरबार हत्याकाण्ड हुनु आश्चर्यजनक भएको उनको भनाइ थियो।
यादवले अनुमानका आधारमा कसैमाथि आरोप लगाउन नहुने स्पष्ट गर्दै १८ वर्षअघि भएको गौर नरसंहारमा आफू र आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरे। सो घटनामा विभिन्न निकायहरूले पटक–पटक अनुसन्धान गरिसकेको उनले स्मरण गरे।
उनका अनुसार ओएचसिआर, राष्ट्रिय मानवअधिकार आयोगदेखि पाटन उच्च अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगसम्मले गौर घटनामा छानबिन गरी प्रतिवेदन दिएका थिए।
यादवले घटनाको पृष्ठभूमि माओवादीको अपहरण, फिरौतीजस्ता गतिविधिप्रति जनआक्रोशको प्रतिक्रिया हुनसक्ने बताए। गौरमा भएको भिडन्तमा आफ्नो पार्टीका कार्यकर्ता नभई गाउँका सर्वसाधारण मात्रै उपस्थित रहेको उनको दाबी छ।
यसैबीच, सर्वोच्च अदालतले भदौ २ गते गौर नरसंहार प्रकरणको छानबिन अघि बढाउन आदेश दिएको छ। त्रिभुवन साहलगायत घाइतेहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा माओवादी र मधेसी जनअधिकार फोरमबीच भएको भिडन्तमा माओवादी पक्षका २७ जनाको मृत्यु र सयभन्दा बढी घाइते भएका थिए।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया