काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्षलाई आधारहीन भन्दै कडा आपत्ति जनाएका छन् ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले समितिको प्रतिवेदनलाई “पोखरा र पोखरेली जनतामाथि लक्षित षड्यन्त्र” को संज्ञा दिँदै सबैले मिलेर यसको प्रतिवाद गर्नुपर्ने बताए ।

advertisement

‘यो आरोप हावादारी, हास्यास्पद र कुण्ठाबाट प्रेरित छ,” उनले भने, “यसको उद्देश्य पोखरा, पोखरेली जनता र पोखरा विमानस्थललाई बदनाम गर्नु मात्र हो । यस्तो षड्यन्त्रविरुद्ध सबै नेपाली एकजुट हुनुपर्छ ।’

संसदको सार्वजनिक लेखा समितिअन्तर्गत सांसद राजेन्द्र लिङ्देन नेतृत्वको छानबिन समितिले विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको ठहर गरेको थियो । समितिले लागत १४ अर्बबाट २२ अर्ब पुर्‍याइएको, कर छुट दिइएको, सरकारकै बजेट प्रयोग गरेर छुट्टै काम गराइएको, रनवे तथा माटो निकासीमा गम्भीर अनियमितता भएको आरोप लगाएको थियो । प्रतिवेदनमा अधिकारीसहित कर्मचारीलाई दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

तर महानिर्देशक अधिकारीले कुनै पनि कागजात वा प्रमाणले भ्रष्टाचार पुष्टि गर्न नसक्ने दाबी गर्दै समितिको निष्कर्षलाई चुनौती दिए । उनले भने, ‘२२ अर्ब बराबरको काम भएको छ कि छैन भनेर तीन जना इञ्जिनियरलाई पठाएर जाँच्नुस्, सबै कुरा प्रष्ट हुन्छ ।’

उनका अनुसार विमानस्थलमा हालसम्म ६३० रोपनी जग्गा अधिग्रहण भएको छ भने सम्पूर्ण भौतिक पूर्वाधार आगामी ५०–१०० वर्षसम्म उपयोग गर्न सकिने गुणस्तरको बनेको छ । उनले विमानस्थलको मूल्यांकन अहिले ६० अर्ब रुपैयाँभन्दा बढी हुने दाबी गरे ।

विमानस्थल निर्माण चीन सरकार स्वामित्वको कम्पनीले गरेको उल्लेख गर्दै उनले त्यहाँ भ्रष्टाचार सम्भव नै नभएको दाबी गरे । ‘जहाँ १ रुपैयाँ भ्रष्टाचार गर्दा पनि मृत्यु दण्ड हुन्छ, त्यस्तो सरकारले आएर भ्रष्टाचार गर्छ ? चीन सरकारलाई त्यसबाट के फाइदा हुन्छ ?’ उनले प्रश्न गरे ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट लिएको ऋण कर उठाएर नभई सेवाशुल्कबाट तिरिएको उनले स्पष्ट पारे । ‘यात्रुबाट लिइने सेवा शुल्कबाटै पोखरा र भैरहवा विमानस्थलको ऋण तिर्ने काम भइरहेको छ,’ अधिकारीले भने, घरघर गएर कर उठाइएको होइन ।

उनले पोखरा विमानस्थललाई “सेतो हात्ती” भनेर बदनाम गर्न खोजिएको आरोप पनि लगाए । “यो विमानस्थल आन्दोलन र जनताकै चाहनाबाट बनेको हो । ‘सेतो हात्ती’ भन्नेहरूले ऋण तिर्ने चुनौती लिनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com