काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् ।
द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेट गरेका हुन्।
भेटमा सभामुख घिमिरेले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध, क्षेत्रीय सहकार्यका सम्भावना र साझा सरोकारका विषयमा चर्चा गरेका थिए। उनले जलवायु परिवर्तन, दिगो विकास तथा पर्वतीय क्षेत्रमा उत्पन्न चुनौतीहरूलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, व्यापार, कनेक्टिभिटी र पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच संसदीय सहकार्य गर्न सकिने धारणा पनि व्यक्त गरे।
नेतृ हसनले नेपालले द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरिन्। उनले जलवायु परिवर्तन न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा नेपालले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताइन्।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया