काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेका हुन ।

विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

advertisement

यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए ।

कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com