काठमाडौं । नेपाल प्रहरीले तालिमप्राप्त तीन कुकुर नि:शुल्क वितरण गर्ने भएको छ। प्रहरी केनाइन कार्यालयका प्रमुख डा. रामचन्द्र सत्यालले यसबारे सूचना जारी गरेका छन्।
वितरणका लागि चयन गरिएका कुकुरहरूमा ८ वर्षीया जर्मन शेफर्ड ‘बिजुली’, ११ वर्षीया गोल्डेन रिट्रिभर ‘मोती’ र ९ वर्षीया जर्मन शेफर्ड ‘म्याक’ रहेका छन्। प्रहरीका अनुसार ‘बिजुली’ले खोजी तथा उद्धार तालिम पाएको छ भने ‘मोती’लाई लागुऔषध खोजी र ‘म्याक’लाई विस्फोटक पदार्थ पहिचान सम्बन्धी तालिम दिइएको छ।
यसअघि प्रहरी प्रधान कार्यालयले साउन २१ गते सूचना जारी गर्दै न्यूनतम मूल्य तोकेर इच्छुक दाता, बहालवाला र पूर्व प्रहरी कर्मचारी तथा सर्वसाधारणलाई कुकुर वितरण गर्ने व्यवस्था मिलाएको थियो। तर, निर्धारित मूल्यमा लिन कोही नआएपछि अब नि:शुल्क वितरण गर्ने निर्णय गरिएको हो।
वितरण प्रक्रियामा बहालवाला प्रहरी कर्मचारीलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि पूर्व प्रहरी र सर्वसाधारणलाई अवसर प्रदान गरिनेछ। साउन २९ गते सार्वजनिक गरिएको सूचनाअनुसार परेका आवेदनको मूल्यांकनपछि चाँडै तीन जनालाई कुकुर वितरण गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया