काठमाडौं । जनता समाजवादी पार्टी नेपालले गौर हत्याकाण्ड सम्बन्धी सर्वोच्च अदालतको आदेश बिना पूर्णपाठ वा संक्षिप्त आदेश प्रकाशित नहुँदै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जोडेर प्रचार गरिएकोप्रति आपत्ति जनाएको छ।
पार्टी प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा अदालतबाट जारी आदेशसँग पार्टी पक्ष वा विपक्षमा नरहेको स्पष्ट गर्दै अध्यक्ष यादवलाई पूर्वाग्रही ढंगले जोडिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “२०६३ सालको दुर्भाग्यपूर्ण घटनामा तत्कालीन सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्य तथ्य अभिलेखीकरण गरिसकेको थियो। साथै, राष्ट्रिय मानव अधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र संघीय निकायले पनि स्वतन्त्र रूपमा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। यस विषयमा राजनीतिक समाधानको बाटो राजनीतिक शक्तिहरूले खोज्नुपर्छ।”
पार्टीले भनेको छ कि सर्वोच्च अदालतको परमादेशअनुसार निष्पक्ष, विश्वसनीय र वस्तुपरक रूपमा अनुसन्धान हुने भए पनि यसबाट आत्तिनुपर्ने अवस्था छैन।
विज्ञप्तिमा थप भनिएको छ, “सर्वोच्च अदालतको आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै विभिन्न सञ्चार माध्यमबाट अपुष्ट र भ्रामक समाचार सम्प्रेषण गरिएको अवस्थामा, अदालतको सम्मानमा कुनै प्रकारको क्रियाकलाप नगर्न र त्यस्ता कार्यमा सहभागी नहुन हामी हार्दिक अपिल गर्दछौँ।”
पार्टीले अध्यक्ष यादव तथा पार्टी सदैव सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।
प्रवक्ताले सञ्चार माध्यमहरूमाझ अपिल गर्दै भनेका छन्, “मधेश आन्दोलन कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने प्रयत्न स्वरूप अतिरञ्जित समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम सृजना गर्ने काम नगर्न। यस्तो कार्यमा कुनै पनि सञ्चार माध्यम संलग्न नहोस्।”
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया