काठमाडौँ  ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छन्।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उनले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताएकी हुन्। “महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन्। त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो”, उनले भनिन्।

advertisement

मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उनीहरु र अरु महिलाको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पारिन्।

उनले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताइन्। उनले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गरिन्।

“अग्रजहरुकै प्रेरणाबाट हामी महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ”, उनले भनिन्।

वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो। नेपाली कांग्रेसकी नेतृ डा राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन्।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गरिन्। उनले महिलालाई राजनीतिमा सजिलो नरहेको बताइन्।

उनले भनिन्, “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ। महिलालाई राजनीतिमा सजिलो छैन। त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ।”

उनले नेपालमा मात्र नभएर विश्वका अरु देशमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको बताइन्।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com