काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनको परिणामले पार्टीलाई ‘राष्ट्रिय पार्टी’ बनाउने वा नबनाउने भए पनि नेपाली कांग्रेस सधैं ‘राष्ट्रिय शक्ति’को भूमिकामा रहने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको हार–जितलाई पार्टीको आकारसँग मात्र जोड्न सकिने बताए। तर, राष्ट्रका चुनौतीपूर्ण घडीमा जिम्मेवारी उठाउने क्षमताले मात्र कुनै पनि पार्टीलाई राष्ट्रिय शक्ति बनाउने उनको तर्क थियो।
“राष्ट्रिय पार्टी भनेको चुनावको परिणामले निर्धारण गर्छ, तर राष्ट्रिय शक्ति भनेको देशको सबैभन्दा ठूलो चुनौतीलाई बुझ्छ र समाधान गर्ने साहस गर्छ,” थापाले भने। उनले शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अहिलेको प्रमुख चुनौती भनेको समाजमा फैलिएको चरम असन्तुष्टि रहेको बताए।
उनका अनुसार यो असन्तुष्टिलाई सम्बोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी कांग्रेसकै हो। त्यसका लागि ठूलो आत्मविश्वास, आन्तरिक शुद्धता र राजनीतिक सुझबुझ आवश्यक रहेको उनले जोड दिए।
थापाले कांग्रेसले सत्ता र शक्तिका लागि आफ्ना आधारभूत मूल्य र मान्यतासँग सम्झौता नगर्ने स्पष्ट पारे। “हाम्रो मूल्य–मान्यतासँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ रहँदैन,” उनले भने, “यदि त्यसरी सत्ताको अर्थ हुने हो भने जननायक बीपी कोइराला जेल बस्नुको सट्टा राजासँग सम्झौता गरेर पुनः प्रधानमन्त्री हुन सक्थे।”
लोकतन्त्रमा बहुमतले गरेका निर्णय वैधानिक हुने तर सबै पक्षबाट स्वीकार नगरेसम्म वैध नहुने टिप्पणी गर्दै उनले भने, “संख्याको आधारमा निर्णय हुन्छ, त्यो वैधानिक हुन्छ, तर सबैले स्वीकारेपछि मात्र त्यो वैध हुन्छ। लोकतन्त्र चल्नका लागि वैधानिक मात्र भएर हुँदैन, वैध पनि हुनुपर्छ।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया